Tuesday 15 January 2019

परिवर्तन by K.R. Dhakal


मैले समयलाई बदलेँ
वा समयले मलाइ बदल्यो ?
अब म शीवरात्रीमा ब्रत गर्दिन
बरु चिलम भरेर गाँजा तान्नेछु
मात्तिएर पाइला चाल्नेछु
भगवानको अघि यो शीर झुक्ने छैन,...
हरेक विहान शंख फुक्ने छैन,
रक्सी खाएर उफ्रनेछु,
दौरा सुरवाल र ढाका टोपी फालेर,
खैरो बनाउनेछु कपाल पालेर,
जीन्स पाइन्टमा टालो हाल्नेछु,
हातका औँलामा नङ्ग्रा पाल्नेछु,
मेरो हिँजोको स्प्लेन्डर बदलेर
हुटिट्याउँ जस्तो VR किन्नेछु
नाङ्ला जत्रा चस्मा लाएर हिन्नेछु
अब हिन्नेछु कपाल बाटेर
टुप्पी काटेर,
दुनिया ढाँटेर
ओ युवति
त्यतिबेला तिमी लिफ्ट माग्न नविर्सनु,
किनकी म परिवर्तन हुँदैछु,
अब म पनि आधुनिक हुँदैछु ।।
पर्ख,
पर्ख, म पनि चुरोट पिएर देखाइदिन्छु,
मोजमस्तिमै जीएर देखाइदिन्छु,
आउ सँगै बसेर चरेस तानौँ,
सुइ हानौँ,
आउ आठ दश जना कुटौँ,
दुइ चार हजार लुटौँ,
प्रेम गर्दिन,
अहँ, जलेर मर्दिन म,
बरु तिमीसँग रात कटाउँछु,
गर्भपात गराउन अस्पताल पठाउँछु,
आमाको खुट्टा मिच्ने हातले
म सुर्ति मिचेर देखाइदिन्छु,
टु पिस लाएर आउ,
म फोटा खिचेर देखाइदिन्छु,
ओ युवति,
तिमी नै होइनौ मलाई पाखे भन्ने?
तिमी नै होइनौ मलाई लोइरे भन्ने ?
अब म परिवर्तन भएर देखाइदिन्छु,
अब म आधुनिक भएर देखाइदिन्छु ।
अब,
बुद्धिचाल खेल्नुको सट्टा,
पुलहाउस धाउनेछु,
लोक गितलाई पाखा लाएर
हिपप र्याप गाउनेछु,
भजन किर्तन फालिसकेँ,
हिँजै मोबाइलमा Blue Film हालिसकेँ,
बैसाख एकलाई विर्सिएर
January 1st मा New Year मनाउँछु,
अब कहाँ आलु च्युरा खाने ?
शुद्ध भैँसीको सुकुटि मगाउँछु,
आउँदै गरेको Valentine's Day मा
म तिमीलाई Love Propose गर्नेछु,
तिमीले Accept गर्न नभुल्नु,
म तिमीसँग जीवन कटाउँदिन,
आउ बरु सँगै आजको रात कटाउँ,
स्विकार गरेर आउ,
किनकी,
म परिवर्तन भइसकेँ,
म आजैदेखि आधुनिक भइसकेँ ।।



Disqus Comments